एभिन्यूजका कार्यकारी अध्यक्ष राजकर्णिकारलाई हरिप्रसाद कल्याणी रिमाल विशेष संचार सेवा सम्मान

काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल विशेष संचार सेवा सम्मान २०८० एभिन्यूज नेटवर्क प्रा.लि.का कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई सम्मानित गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले सो सम्मान प्रदान गरेको हो ।  नेपाली संचार जगतमा खासगरी टेलिभिजन माध्यम मार्फत यस क्षेत्रको विकास र सम्वद्र्धनमा अतुलनीय योगदान  पुर्‍याए वापत अध्यक्ष राजकर्णिकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको प्रतिस्ठानले जनाएको छ । 

रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले हरेक वर्ष संगीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोतम सापकोटा, नाटयकर्मी मदनदास श्रेष्ठ लगायतलाई पनि सम्मान गरिएको छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा उत्कृष्ट नाटक र नाटयकर्मीलाई पनि पुरस्कृत गरिएको छ । 

प्रदर्शनमा आएका छ नाटकमध्ये उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिएको हो । प्रतिष्ठानका अनुसार पहिलो हुने नाटकलाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ प्रदान गरिएको हो । उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । 

वि.सं. २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ । 

प्रतिक्रिया