अनुदान कार्यक्रमले पशुपालन किसान उत्साहित

तनहुँ । जिल्लको भानु नगरपालिकाले पशुपालन किसानलाई अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएर पशुपालन व्यवसायमा लागेका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी रु तीन हजारका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् ।

नगरपालिकाले घाँसखेतीका साथ पशुपालन गर्दै आएका किसानलाई अनुदान रकम प्रदान गरेको पशु विकास शाखाका प्राविधिक अमित ढुङ्गानाले बताए । ढुङ्गानाले भने किसानले कुल एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेबापत रु पाँच लाख ५५ हजार अनुदान प्रदान गरेको छ ।

“पछिल्लो समय किसानले घाँसखेतीसँगै पशुपालन व्यवसायलाई वृद्धि गर्दै लान थालेका छन्”,उनले भने, “नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उत्प्रेरणा गर्ने काम भइरहेको छ ।

नगरपालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्ने, दुग्घ उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिएको हो ।“घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत कृषकले नयाँ प्रजातिका डाले तथा भुइँ घाँस विस्तार गरेका छन्”, ढुङ्गानाले भने, “यस कार्यक्रमले पशुपालन क्षेत्रमा घाँसको परिपूर्ति गरी उत्पादन लागतमा कमी ल्याउने योजना छ ।

”त्यसैगरी नगरपालिकाले दुग्ध उत्पादनका आधारमा अनुदान वितरण कार्य थालेको  छ । उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान प्रतिस्पर्धाका साथै उत्साहित भएर उत्पादन गर्न लागेका छन् ।

नगरभित्रका दुई वटा दुग्ध उत्पादन सहकारीमार्फत रु चार लाख २० हजार रकम अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।  पौडेलले भने  उत्पादनका आधारमा प्रदान गरिएको अनुदानले किसानलाई हौसला प्रदान गरेको छ ।

उनलृ भने, “किसानलाई प्रतिलिटर रु तीनका दरले अनुदान दिइएको छ ।”नगरप्रमुख आनन्द त्रिपाठीले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न र नगरलाई दूध तथा मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको बताएका छन् ।

रासस

प्रतिक्रिया