शेख हसिनाको सुपुर्दगीका लागि बंगलादेशले भारतसँग आग्रह गर्ने

एजेन्सी । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्ने तयारी गरेको छ । 

बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्नसक्ने बताएका हुन् । 

मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकार पूर्व प्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति निकै दुःखी रहेको बताउदै आएका छन् । बङ्गलादेशमा सरकार र विषेशगरी आफूलक्षित आन्दोलन चर्किएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुगेकी थिइन् । 

हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता भएको छ ।  मानवअधिकार उल्लंघनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन् । 

उता भारतीय विदेश मन्त्रालयले बंगलादेशको पछिल्लो परिस्थतिका कारण त्यहाँ चलिरहेका भारतीय परियोजना स्थगन गरिएको जनाएको छ । बंगलादेशका परियोजनाबाट केही व्यक्ति फिर्ता आउनुपरेका कारण ती आयोजना रोकिएको हो । यसैबीच अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र अवामी लिगका छ सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया