पत्नीलाई फसाउन खोज्दा आफै परे जेल

एजेन्सी । सिङ्गापुरमा आफ्नी पत्नीलाई कारमा गाँजा हालेर फसाउने प्रयास गर्ने एक व्यक्तिलाई चार वर्षको जेल सजाय सुनाइएको छ ।

३७ वर्षीय तान सियाङलोङले आफ्नी श्रीमतीको कारको पछाडिको प्यासेन्जर सिटको बीचमा गाँजाको बिरुवा र भाङ राखेका थिए ।  पत्नीलाई मृत्यु दण्डदिने षडयन्त्र गरेको अभियोगमा  टानलाई  चलान गरिएको हो । सिङ्गापुरमा लागूऔषध विरोधी केही कानूनहरु  विश्वकै सबैभन्दा कडा कानूनमा पर्दछन् । अदालतका अनुसार  टानले  पत्नीलाई  तर्साउने र  कानूनको समस्यामा पार्ने नियत राखेका थिए । 

यदि उनको योजना सफल भएको भए उनकी श्रीमतीलाई गलत तरिकाले गिरफ्तार गरिने र गम्भीर अपराधको अभियोग लगाएर जेल जाने कुरा बुझेका थिए।टान र उनकी श्रीमतीले सन् २०२१ मा विवाह गरेका थिए र एक वर्षपछि छुट्टिएका थिए । उनीहरूले सम्बन्धविच्छेदका लागि निवेदन दिन सकेनन् किन भने सिंगापुरले कम्तीमा तीन वर्षदेखि विवाह गरेका दम्पतीका लागि मात्र सम्बन्धविच्छेदका लागि अनुमति दिन्छ।
टानले आफ्नी पत्नीलाई  आपराधिक  क्रियाकलापमा फसाएर प्रेमिकासँग बिवाह गर्न चाहेका थिए । 

गत वर्ष आफ्नी प्रेमिकासँग टेलिग्राम च्याटमा उनले आफ्नी श्रीमतीलाई फसाउन आफूले अपराधको भयंकर जुक्ती निकालेको  बताएका थिए । उनकी पत्नीको कार क्यामेराले सुसज्जित थियो, टानले गाँजा कारमा राखेको दृश्य क्यामरामा कैद भएको थियो ।  अनुसन्धानका क्रममा प्रहरीले कारमा खानतलासी गर्दा लागुऔषध फेला पारेपछि  टानकी श्रीमतीलाई पक्राउ गरेको थियो ।तर उनीविरुद्ध कुनै प्रमाण फेला नपरेपछि प्रहरीले  आफ्नो अनुसन्धान टानतिर फर्काए र उनलाई पक्राउ गरे।

टानका वकिलले उनले अपराध गर्दा उनी डिप्रेसनबाट पीडित रहेको तर्क गर्ने प्रयास गरे, तर अदालतले डाक्टरहरूको निष्कर्षलाई उद्धृत गर्दै उनी कुनै पनि मानसिक रोगबाट पीडित नभएको भन्दै यसलाई अस्वीकार गरेको थियो।

प्रतिक्रिया