मङ्कीपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने डब्ल्यूएचओ दाबी

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने बताएको छ । 

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार डब्ल्यूएचओले गत अगस्ट १४ तारिखमा एमपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्कालका रुपमा घोषणा गरेको थियो । 

यसवर्ष कङ्गोमा अहिलेसम्म १८ हजार जनाभन्दा धेरै सम्भावित केस रिपोर्ट गरिएको छ । जसमा ६ सय २९ जनाको ज्यान गएको छ । बुरुन्डी, रुवान्डा, युगान्डा, स्विडेन, थाइल्यान्डलगायतका देशमा पनि सङ्क्रमणको पुष्टि भइसकेको छ । 

डब्ल्यूएचओले खोपमा पहुँच र वितरणलाई तीव्रता दिने गरी काम गरिरहेको जनाएको छ । अफ्रिकी देश कङ्गोमा तीव्र रूपमा फैलिएको एमपक्सको नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अफ्रिकाबाहेकका महादेशमा पनि देखिन थालेपछि जोखिम थप बढेको छ । 

श्वासप्रश्वासका साथै थुक,  र्‍याल, सङ्क्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट यसको सङ्क्रमण सर्ने जोखिम हुन्छ । एमपक्स भाइरस सन् १९५८ मा पहिलोपटक डेनमार्कमा खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो । 

प्रतिक्रिया