मङ्गोलिया जाँदै पुटिन, पक्राउ पर्ने अपेक्षा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३ सेप्टेम्बरमा मङ्गोलियाको भ्रमण गर्दैछन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले पुटिन मङ्गोलिया गएमा उनलाई पक्राउ गर्ने जिम्मेवारी त्यहाँका अधिकारीहरूको हुने बताएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अदालतका प्रवक्ता डा. फादी अल-अब्दल्लाहले आईसीसीको आदेश पालना गर्नु मङ्गोलियाको कर्तव्य भएको भन्दै यसमा मङ्गोलियाले सहयोग गर्नुपर्ने बताएका छन् । मङ्गोलिया आईसीसीको सदस्य हो। मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले रुस र युक्रेनबिच जारी संघर्षमा युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको अदालतले जनाएको छ ।

रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो। आईसीसीले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को स्थायी सदस्य राष्ट्रका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको यो पहिलो पटक हो।

यता युक्रेनी अधिकारीहरूले पुटिनलाई मंगोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन्। युक्रेनी विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मङ्गोलियालाई पुटिन एक युद्ध अपराधी हो भन्ने र आईसीसीले उनी विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ भन्नेबारे मङ्गोलिया सचेत छ भन्ने आशा गरेका छौँ।’

वारेन्ट जारी भएपछि रुसी राष्ट्रपतिको आईसीसी सदस्य राष्ट्रमा हुन लागेको यो पहिलो भ्रमण हो।

प्रतिक्रिया