दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजारभन्दा बढीको हत्या

एजेन्सी । दक्षिण अफ्रिकामा ३ महिनामा ६ हजारभन्दा बढीको हत्या भएको छ । अपराध नियन्त्रण नयाँ गठबन्धन सरकारको प्रमुख मुद्दा बनेको दक्षिण अफ्रिकामा अप्रिलदेखि जुनको बीचमा करिब ६ हजार २ सय व्यक्तिको हत्या भएको तथ्यांकले देखाएको छ । 

प्रहरीमन्त्री सेन्जो म्याकचुनुले ३ महिनामा ६ हजार १ सय ९८ व्यक्तिको हत्या भएको जानकारी दिएका हुन् । यो आँकडा एक वर्षअघिको समान अवधिको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले कम हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दक्षिण अफ्रिकामा शान्तिकालमा प्रतिव्यक्ति हत्या दर विश्वमा सबैभन्दा धेरै छ । महिला र बालबालिकामाथि हुने यौन आक्रमणका लागि कुख्यात मुलुक दक्षिण अफ्रिकामा बलात्कारका घटनाहरू गत वर्षको यही तीन महिनाको अवधिको तुलनामा शून्य दशमलव छ प्रतिशतले बढेका छ ।

अप्रिलदेखि जुनको बीचमा मुलुकमा कूल ९ हजार ९ सय ९ बलात्कारका घटना दर्ता गरिएका छन् । यस अवधिमा प्रहरी कारवाहीमा ४४ हजार ७ सय ३५ लागुऔषधसँग सम्बन्धित अपराध फेला परेको समाचारमा उल्लेख गरीएको छ । 

प्रतिक्रिया