गाजामा बालबालिकालाई पोलियोको खोप दिन निश्चित समय संघर्षविराम गर्न इजरायल सहमत

एजेन्सी । इजरायली सेना र प्यालेस्टिनी लडाकु समूह हमासले गाजा पट्टीका लगभग ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन क्षेत्रगत रुपमा गरी तीन दिनका लागि सीमीत युद्ध विराम गर्न सहमति जनाएका छन् । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्यालेस्टिनी क्षेत्रका लागि विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी रिक पिपरकोर्नले खोप अभियान यही आइतबारबाट सुरु हुने बताए । खोपका लागि स्थानीय समय अनुसार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि संघर्ष विराम गर्ने सहमति भएको हो । 

सहमति अनुसार सुरुमा मध्य गाजामा तीन दिनकालागि अस्थायी रुपमा लडाई राोकिने छ र सो अवधिमा बालबालिकालाई खोप दिइनेछ । त्यसपछि खोप अभियान दक्षिणी गाजामा सर्नेछ, जहाँ अर्को तीन दिनकालागि लडाईं रोकिनेछ र बालबालिकालाई खोप दिइनेछ । त्यसपछि यो प्रक्रिया उत्तरी गाजामा सर्नेछ । आवश्यक भएमा प्रत्येक क्षेत्रमा मानवीय संघर्ष विरामको समय चौथो दिनसम्म विस्तार गर्ने सहमति समेत भएको बताइएको छ । 

डब्लुएचओले यही अगस्ट २३ मा गाजामा कम्तिमा एक बालकलाई टाइप २ पोलियो भाइरसका कारण पक्षाघात भएको पुष्टि गरेको थियो । गाजामा पोलियो देखिएको यो २५ वर्षपछिको पहिलो घटना हो । इजरायलले गाजामा जारी राखेको आक्रमणमा ४० हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् भने मारिनेमा ठुलो संख्या बालबालिकाको रहेको छ ।

प्रतिक्रिया