अविरल वर्षाका कारण गुजरातमा १६ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यमा विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण १६ जनाको मृत्यु भएको छ । वर्षाका कारण कयौँ क्षेत्र डुबानमा परेका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार सौराष्ट्र र मध्य गुजरातमा विगत ४८ घण्टादेखि वर्षाको तीव्रता र अनुपातमा कमी नआएपछि धेरै गाउँ र शहर डुबानमा परेका हुन्  । गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भएको छ । बाढीका कारण यहाँका धेरै क्षेत्रमा मानिसहरू अलपत्र परेका छन् । मुसलधारे वर्षाले  सौराष्ट्रका द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । 

भारी वर्षाका कारण मलिया नजिक राष्ट्रिय राजमार्ग भत्किएको छ । गुजरात सरकारका अनुसार भारी वर्षाका कारण अहिलेसम्म २३ हजार ८७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बडोदरा र जामनगरमा उद्धारका लागि वायुसेना तैनाथ गरिएको छ ।

बाढी प्रभावित क्षेत्रबाट १ हजार ६ सय ९६ जना विस्थापित भएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया