जिम्बाब्वेबाट आउँदै गरेको बस दक्षिण अफ्रिकामा पल्टिँदा १० जनाको मृत्यु

एजेन्सी । जिम्बाब्वेबाट आउँदै गरेको एउटा बस दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा नियन्त्रण गुमाएर पल्टिँदा १० जनाको मृत्यु र ३५ जना घाइते भएको स्थानीय यातायात मन्त्रालयले बुधबार बताएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार मंगलबार मध्यरातअघि जोहानेसबर्ग गइरहेको बस दुर्घटना हुँदा ‘कथित रूपमा विदेशी नागरिक’ पाँच पुरुष र पाँच महिलाको मृत्यु भएको सरकारले विज्ञप्तिमार्फत जनाएको छ ।

“तीव्र गतिमा रहेको बस घुमाउरो सडकमा नियन्त्रण गुमाएर पल्टिएको थियो र दुर्घटनामा १० यात्रीहरूको मृत्यु भयो र अन्य घाइते भए”, विज्ञप्तिमा उल्लेख छ । 

अधिकारीहरूका अनुसार बस चालक नयाँ थिए र वरपरको अवस्थासँग अपरिचित थिए । घाइते यात्रीहरूलाई स्थानीय अस्पतालमा लगिएको छ । दक्षिण अफ्रिका अफ्रिका महादेशमा सबैभन्दा विकसित सडक सञ्जाल भएका मुलुकमध्ये एक हो तर, सबैभन्दा खराब सडक सुरक्षा रेकर्डमध्येको पनि एक हो । यसको एउटा कारण लापरवाहीपूर्वक ड्राइभिङ र सडकमा चलाउन योग्य सवारी साधन नहुनु हो । 

यस वर्ष दक्षिण अफ्रिकामा सबैभन्दा भयानक सडक दुर्घटना मार्चमा भएको थियो । एक धार्मिक कार्यक्रममा जाँदै गरेको बस पुलबाट खोलामा खस्दा ४५ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया