साफ यू-२० च्याम्पियनसिप: नेपाललाई पराजित गर्दै बंगलादेशले जित्यो उपाधि
काठमाडौ । साफ यू-२० च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।
बंगलादेशको जितमा मिराजुली इस्लामले दुई गोल गरे । मोहम्मद रब्बी हुसेन राहुल र मोहम्मद पिएस अहमेद नोभाले समान एक गोल गरे । नेपालका समिर तामाङले एक गोल फर्काए ।
खेलको पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशले अग्रता लियो। बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल गरे। डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले दोस्रो बार च्यापेर हानेको प्रहार पोलमा लागेर जाली चुमेको थियो। खेलको ५५ मिनेटमा मिराजुल इस्लामले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे। उनले सिक्स यार्डमा प्राप्त पासमा हेडमार्फत गोल गरे । ७१औँ मिनेटमा राहुलले गोल गरेपछि घरेलु टिमविरुद्ध बंगलादेशले ३–० को अग्रता बनायो ।
खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा नेपालले एक गोल फर्कायो । नेपालको तर्फबाट फरवार्ड समिर तामाङले गोल गरे । १० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा बंगलादेशले चौथो गोल गर्यो। उसका लागि अहमेद नोभाले डिबक्स भित्रबाट बललाई गोलमा परिणत गरे ।
समूह चरणमा बंगलादेशविरुद्ध नेपालले २–१ को जित निकाले पनि फाइनल खेलमा नेपाल ४–१ गोल अन्तरले पराजित हुँदै उपाधीवाट बञ्चित हुनु परेको हो ।
प्रतिक्रिया