एन्फा महासचिवको तलब २ लाख ६८ हजार, खेलाडीको ३० हजार मात्र
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर (२ लाख ६८ हजार रुपैयाँ बढी) हुने केन्द्रीय कार्यसमिति बैठकले मंगलबार निर्णय गरेको छ।
अध्यक्ष पंकज नेम्वाङले एजेन्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महासचिवको तलब दुईहजार अमेरिकी डलर (दुई लाख ७० हजार रुपैयाँ) पुर्याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद उनको प्रस्ताव बहुमतले पारित गरेको हो ।हाल महासचिव किरण राईको मासिक तलब १ लाख २० हजार रुपैयाँ छ।
बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ। यो निर्णय भने सर्वसम्मतले पारित भएको छ।
मंगलबार सुरू भएको बैठक अझै सकिएको छैन। मंगलबार दिनभर छलफल भएर केही बुँदामा निर्णय हुँदा कतिपय एजेन्डामा छलफल हुन बाँकी छ। त्यसैले बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ। उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो। जसमा मात्र ५ जित दिलाएका थिए। ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो।
एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया