थाइल्याण्डमा विषाक्त मदिरा सेवन गर्दा ६ जनाको मृत्यु

एजेन्सी । थाइल्यान्डमा गैरकानूनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा ६ जनाको मृत्यु भएको र गम्भीर अवस्थामा रहेका २० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ । 

बैङ्ककको उत्तरपश्चिमी किनारमा रहेको ‘ख्लोङ साम वा’ जिल्लामा यो घटना भएको हो । अधिकारीहरूले यस क्षेत्रको सडक किनारमा रहेका १९ पसलमा अवैध मदिरा बिक्री गरेको छापापछि फेला पारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनएका छन् । 

अस्पतालमा बुधबार बिहान ६ जनाको मृत्यु भएको र २२ जनाको अवस्था गम्भीर रहेको बैङ्कक मेट्रोपोलिटन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । मदिरा पिएर बिरामी हुनेमध्येका एक आफन्तले सार्वजनिक प्रसारणकर्ता थाईपीबीएसलाई बताए, “मदिरा पिएपछि मेरा बुबाले पेट गुर्रिएको बताएका र पछि बेहोस भएका थिए । बुबालाई आईसीयूमा राखी उपचार गरेपछि अहिले होस आएको छ ।” 

थाइल्याण्डमा मदिरा बिक्रीलाई प्रत्येक दिनको निश्चित घण्टामा सीमित गर्ने र धार्मिक बिदाहरूमा यसको व्यापारमा प्रतिबन्ध लगाउने कडा मदिरा कानूनी प्रावधान छन् । तर, यस्ता नियमले स्थानीय रूपमा ‘या डोङ’ भनेर चिनिने अनियमित ढङ्गले बनेको सस्तो रक्सीको कालो बजारलाई प्रोत्साहन गरेको आलोचकहरूले बताएका छन् ।  

‘ख्लोङ साम वा’ जिल्लाका शीर्ष स्थानीय अधिकारी सोमवाङ चाइप्राक्राइवानले अधिकारीहरूले यस क्षेत्रका अवैध मदिरा पसलमाथि कारबाही गरेको बताए । “प्रहरी र अन्तःशुल्क विभागले गैरकानूनी मदिरा व्यापारीलाई पक्राउ गरी हिरासतमा लिएको छ,” सोमवाङले बताए । 

अवैधरूपमा बनाइएको मदिरामा यसको शक्ति बढाउन प्राय मेथनोल मिसाइन्छ । मेथानोलको सेवनले अन्धोपन, कलेजोको क्षति र मृत्युसमेत निम्त्याउन सक्छ । 
रासस

प्रतिक्रिया