तेस्रो उपाधि जित्ने लक्ष्यमा नेपाली युवा टोली

काठमाडौं । नेपालको युवा टोली घरेलु मैदानमा भएको साफ यु–२० च्याम्पियनसिपको फाइनलमा बुधबार बंगलादेशलाई हराउँदै लामो समयदेखिको उपाधि खडेरी तोड्न चाहन्छ । 

दक्षिण एशियाली फुटबलमा विभिन्न उमेरसमूहका पछिल्ला पाँच प्रतियोगितामा नेपाल दुई पटकको च्याम्पियन टोली हो । नेपालले सन् २०१५ मा भएको पहिलो उमेरसमूहको प्रतियोगिता ९यु–१९० र सन् २०१७ को यु–१८ साफको उपाधि जितेको थियो । तीबाहेक अन्य तीन प्रतियोगितामा भने नेपाल फाइनलमा नै पुग्न असफल रह्यो । तर, यसपटक घरेलु मैदानमा जारी यु–२० साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुग्दा तेस्रो उपाधि जित्ने लक्ष्यमा छ । यो उपाधि जित्दै कुशल देउवाको कप्तानीमा रहेको नेपाली युवा टोली ६ वर्षदेखिको प्रतीक्षामा सफलता प्राप्त गर्न चाहन्छ ।

साफमा दबदबा बनाउँदै आएको भारतबिना पहिलोपटक फाइनल हुँदैछ । यसको फाइदा लिने लक्ष्यमा नेपाल हुनेछ । त्यसका लागि नेपालले सन्तुलित फुटबल खेल्दै आएको बंगलादेशको चुनौती पार गर्नुपर्नेछ । यसै प्रतियोगिताको समूहमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो । सोही नतिजाले नेपाली खेलाडीका लागि आत्मबल प्राप्त हुनेछ । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले बंगलादेशसँग यसअघि नै समूहचरणमा पनि खेलिसकेकाले उनीहरूका बारेमा राम्रो जानकारी रहेको उल्लेख गरे । 

सोहीअनरूप रणनीति बनाएर उत्रने उनको भनाइ छ । त्यो नतिजा हाम्रो पक्षमा आएको थियो । यद्यपि, उनले यस अघिको नतिजाले खासै फरक नपर्ने र आफ्ना रणनीतिअनुरूप खेल्ने टोलीले फाइनलमा राम्रो नतिजा ल्याउने बताए । लगातार वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशाला योग्य हुन सकेन । यसैले यसअघिका अधिकांश खेल सातदोबाटोको टर्फ मैदानमा नै भयो । जहाँ नेपाली युवा टोलीले करिव ४५ दिन तयारी गरेको थियो । यही स्थानमा फाइनल हुनु आफूहरूका लागि फाइदा मिल्ने प्रशिक्षक श्रेष्ठको विश्वास छ । 

तर एन्फामा घरेलु समर्थकको राम्रो साथ नपाएकाले त्यसको कमी हुने प्रशिक्षक श्रेष्ठको भनाइ छ । नेपालले समूहचरण र नकआउटमा गरी तीन गोल मात्र गरेको छ । पछिल्ला तीन खेलमा कयैन अवसर सिर्जना गरे पनि नेपालको फरवार्ड लाइन त्यति प्रभावकारी हुन सकेको छैन । यद्यपि, यो युवा टोलीमा राष्ट्रिय टोलीबाटै खेलिसकेका समीर तामाङजस्ता स्ट्राइकर पनि छन् । भुटानविरुद्धको सेमिफाइनलमा नेपालको मिडफिल्ड र फरवार्ड लाइनबीच तालमेलको अभाव पनि देखिएको थियो ।
 
त्यसले गर्दा नेपालले जित निकाल्न पेनाल्टी सुटआउटसम्म संघर्ष गर्नुपर्‍यो । नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले अहिलेसम्म तयारीअनुरूप प्रदर्शन हुन नसकेको स्वीकार गरे । यद्यपि, फाइनलमा अपेक्षा पूरा हुने उनको आशा छ । कप्तान कुशल देउवाले पनि यसअघि केही कुरामा आफ्नो टोली चुकिरहेको उल्लेख गरे । तर फाइनलमा सुधार हुने उनले विश्वास व्यक्त गरे । 

नेपालका प्रशिक्षक उर्र्जनले भारतजस्तो टोलीलाई हराएर फाइनलमा आएकाले बंगलादेश निकै बलियो टोली रहेको बताएका छन् । उनले भारत, बंगलादेश, भुटान र नेपाल गरी चार वटै टोली फाइनलका लागि योग्य रहेको उल्लेख गर्दै फाइनलमा पुग्ने दुवै टोली एकअर्काका लागि सहज नहुने उनको भनाइ छ । त्यसैले फाइनलमा जसले राम्रो खेल्न सक्छ त्यसको पक्षमा नतिवा आउने उनले स्पष्ट पारेका छन् । 
कप्तान कुशलले आफ्नो टोली फाइनलका लागि तयार रहेको र राम्रो प्रदर्शन गर्ने बताए । अहिले आफ्नो टोलीले योजनाअनुरूप काम गरिरहेको कुशल बताउँछन् । बंगलादेश पनि उमेरसमूहका पछिल्ला पाँच प्रतियोगितामध्ये तीन पटक उपविजेतामा नै सिमित हुनुपरेको छ । पछिल्लो साफ यु–२० च्याम्पियनसिपमा पनि बंगलादेश फाइनलमा पुगेर भारतसँग पराजित भएको थियो । यसपल्ट सेमिफाइनलमा नै भारतमाथि बदला लिँदै बंगलादेश फाइनलमा पुगेको छ । त्यो पनि नियमित कप्तान तथा गोलकिपर मेहदी हसन ६९ औं घाइते भएर बाहिरिएपछि बंगलादेशले सफलता पाएको हो । 

चोटका कारण नियमित कप्तान तथा गोलकिपर मेहदी हसनले फाइनलमा खेल्ने छैनन् । तर उनको विकल्पमा पनि टोलीले राम्रो खेल्ने बंगलादेशका प्रशिक्षक मरुफुल हकको विश्वास छ । उनले पछिल्लो समूहचरणको खेलले कुनै अर्थ नराख्ने र फाइनलका दुवै टोलीका लागि नयाँ दिन र नयाँ खेल हुने स्पष्ट पारेका छन् । त्यसमाथि पनि आफ्नो टोली राम्रो लयमा रहेको उनको विश्वास छ । तर नेपाल पनि धेरै बलियो टोली रहेको र त्यसमाथि नेपाली खेलाडी यो मैदान र हावापानीमा अभ्यस्त रहेकाले नेपालसँग खेल्ने सहज नहुने उनले बताए ।  
नेपालका खेलाडीलाई यो मैदानमा खेल्न सहज हुनेछ । तर प्रशिक्षक मरुफुलले बंगलादेशले आफ्नो रणनीतिअनुरूप खेल्ने र सफलता प्राप्त गर्ने दाबी गरे ।  बंगलादेशका कप्तान मोहम्मद असरफुल आसिफले नेपाल धेरै बलियो टोली रहेको र घरेलु टोलीमा तिब्र गतिका विङ्गर रहेकाले केही कठिनाइ हुने बताए । तर उनीहरूलाई रोक्ने रणनीतिसहित आफ्नो टोली फाइनलमा उत्रने उनको विश्वास छ । नियमित कप्तान हसन घाइते भएपछि उपकप्तान आसिफले फाइनलमा बंगलादेशको कप्तानी गर्नेछन् । 

 

प्रतिक्रिया