रेष्टुरेन्टमा खाएर बिल नतिर्ने दम्पती प्रहरीको खोजीमा

एजेन्सी । पूर्वी बेलायतको एसेक्स भन्ने स्थानमा  एक दम्पतीले रेष्टुरेन्ट र ट्याक्सी ड्राइभरलाई पैसा नदिई पटक–पटक ठगेको भन्दै प्रहरीको खोजीमा परेका छन् । 

प्रहरीले डेनियल एलानी र उनकी श्रीमती केरी स्टिभेन्सको खोजी गरिरहेको हो । उनीहरु  रेष्टुरेन्टमा खाइसकेपछि बिभिन्न बहाना बनाएर भाग्ने गरेका डेली स्टारले जनाएको छ । त्यसैगरी पटक –पटक गरेर ट्याक्सी चढेर हिड्दा  १० वटा ट्याक्सीको पनि भाडा नतिरेको अभियोग ती दम्पतीमाथि छ । खाँदै भाग्दै गरेपछि उनीहरु बिरुद्ध दुइवटा रेष्टुरेन्टले स्थानीय एसेक्स प्रहरीमा उजुरी दिएका थिए । ३८ वर्षीय एलानी र केरीलाई गत मे २ मा प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला यो जोडीले जुलाइको अन्त्यसम्म खाएको र ट्याक्सीको भाडा तिर्ने सर्त गरेपछि प्रहरीले जमानतमा छोडेको थियो । 

तर उनीहरु अहिलेसम्म पनि फर्केर नआएपछि  एसेक्स प्रहरीले उनीहरूको ठेगानाको बारेमा जानकारीको लागि अपील जारी गर्‍यो ।

एसेक्स प्रहरी प्रवक्ताका अनुसार ट्याक्सी भाडा र रेष्टुरेन्टको बिल तिर्न असफल भएका र प्रहरीको जमानतको जवाफ दिन असफल भएका घटनाहरूको अनुसन्धानको सिलसिलामा प्रहरीले कुरा गर्न खोजे पनि यो दम्पती बेपत्त्ता छन् । उनीहरुको खोजी भइरहेको छ । प्रहरीका अनुसार एलानीको उचाई ५ फिट ८ इन्च रहेको छ भने केरीको  उचाई ५ फिट रहेको छ ।

प्रतिक्रिया