युद्धविराम वार्ता हमास र इजरायलका लागि अन्तिम अवसर भएको अमेरिकी विदेश मन्त्रीको भनाई

एजेन्सी । मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइ सम्झौतालाई सुरक्षित गर्न हमास र इजरायलका लागि अहिले सबैभन्दा राम्रो र अन्तिम अवसर भएको बताएका छन्।

उनले गत अक्टोबर पछि मध्यपूर्वको  नवौं भ्रमणको क्रममा सोमबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा यस्तो बताएका हुन् । ब्लिन्केनले गत वर्षको अक्टोबरमा इजरायल र प्यालेष्टाइनी लडाकु समूह हमासबीच युद्ध सुरु भएदेखि धेरै क्षति भएको भन्दै युद्ध विरामका लागि दुबै देशबीच वार्तामा जोड दिएका हुन् ।  

कतारको दोहामा गतहप्तादेखि  अमेरिका, कतार र इजिप्टकाप्रतिनिधिबीच इजरायल र हमासबीचको लडाइ अन्त्यबारे छलफल भइरहेको छ । दोहामा वार्ता  सुरु भएदेखि अमेरिकाले सम्झौताको बारेमा आशा व्यक्त गरेको छ । तर हमासले भने युद्ध विरामका लागि इजरायली सेनाहरू गाजाबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने बताएको छ । अमेरिकाले युद्ध विरामका लागि दुवै पक्षलाई दवाब दिदै आइरहेको छ ।  ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भटमा पनि दबाब कायम राख्ने अपेक्षा गरिएको छ।

ब्लिन्केनले आफ्नो नवौ मध्यपूर्व भ्रमण  बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई राम्रोसँग राख्ने अन्तिम अवसर अनि   स्थायी शान्ति र सुरक्षाको बाटो भएको बताएका छन् । वार्ता इजरायल र हमास बीचको लामो समयदेखि रहेको खाडललाई कम गर्ने उद्देश्यले अमेरिकाले प्रस्तुत गरेको परिमार्जित प्रस्तावमा आधारित छ।तर यसबारे इजरायली नेतृत्व वा हमासले केही भनेको छैन । युद्ध विराम नहुनुमा इजरायल र हमासले एक अर्कालाई दोष लगाउने गरेका छन् । यसले मध्यस्थकर्ताको प्रयासलाई विफल पार्न सक्ने बताइएको छ । 

हमासले गत वर्षको अक्टोबर ७ मा एक्कासी इजरायलमाथि आक्रमण गरेर १२ सय इजरायली मानिसको हत्या गरेको थियो । त्यसपछि इजरायलले गाजामा हमासबिरुद्ध आक्रमण तीब्र बनाइरहेको छ । इजरायलको आक्रलमणमा ४० हजार नागरिक मारिएको हमासको भनाई छ ।    

गत नोभेम्बरमा दुइ पक्षबीच  भएको युद्धविराम सम्झौतामा हमासले एक हप्ता लामो युद्धविरामको बदलामा १०५ जना इजरायली बन्धकहरूलाई रिहा गरेको र इजरायली जेलमा रहेका २४० प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले मुक्त गरेको थियो ।  इजरायलले भने १११ बन्धकहरू अझै पनि हमासले राखिरहेको र  जसमध्ये ३९ जनाको मृत्यु भएको अनुमान गरेको छ।हमासले अक्टोबर ७ मा आक्रमण गरेर इजरायली नागरिकसँगै नेपालका बीपीन जोशीलाई पनि बन्धक बनाएको थियो । उनको अवस्था के छ भनेर अझै पत्ता लाग्न सकेको छैन । 
 

प्रतिक्रिया