किन लगाउने जनै,के छ यसको महत्व ?

अथर्ववेदाचार्य.नारायण घिमिरे

संस्कृतमा जनैलाई यज्ञोपवीत(Yajñopavīta)भनिन्छ। यज्ञ(yajña)र उपवीत(upavīta) शब्दहरू मिलेर बनेको संस्कृत शब्द यज्ञोपवीत (Yajñopavīta) को यज्ञ शब्दले वैदिक कार्य भन्ने अर्थ दिन्छ भने उपवीत शब्दको अर्थ शुद्धीकरणको लक्ष्य वाकेको पवित्र धागो भन्ने लाग्दछ।

वैदिक कालमा मन्त्रको भाव सम्पूर्ण रूपमा बुझेको, मौन रहने, सेतो पवित्र कपासको धागो सदैव आफूसँग राख्ने, सेतो वस्त्र लगाउने, वस्त्रले नढाकिएको भाग खरानीले ढाकिएको, आफ्ना इन्द्रियहरू माथि विजय प्राप्ति गरेको इन्द्रिय विजयी  र आत्मसंयम पात्र साधकको रूपमा देखिने गर्दथे। साधक पुरुष होस् वा महिला हरेकले आफ्नो मनलाई मन्त्रमा केन्द्रित गरी तोकिएको विधि अनुसार पूजा, अर्चना गर्ने र पूजा पश्चात व्रत लिएर ज्ञान प्राप्तिको लागि ध्यानमा (मेडिटेसन) बस्ने गर्दथे।

जनै सम्पूर्ण रूपमा कपास निर्मित डोरी हो। हरेक डोरीको तीन पया अर्थात् धागोको त्यान्द्रो मिली बनेको हुन्छ। हरेक त्यान्द्रो तीन वटा बलिष्ठ धागो निर्मित हुन्छ। शास्त्रले गायत्री मन्त्रको सन्देशको पूर्ण राम्रो ज्ञान हुने व्यक्तिले हातले जनै बनाउने वा काट्ने गर्दछन् भन्ने मान्यता राख्दछ। जनै बन्ने सेतो कपासले भने सूर्यको सेतो प्रकाशको किरणलाई सङ्केत गर्दछ।

जनै बनाउने क्रममा तीन सुता भएको धागालाई नछिनालीकन सङ्कलन गरेर बराबर पारेर बाटी त्यसलाई एउटा शिखा (त्यान्द्रो )बनाइन्छ। यसरी बनेको तीनवटा शिखा मिलेर तिन पयाको आधारभूत मुख्य जनै तैयार हुन्छ।

तीन पयाको जनैमा रहने नौ वटा धागोको डोरा मध्ये एउटा शिखामा रहेका तीन डोराले वैदिक मान्यताका सृष्टि अर्थात् निर्माणको शक्ति ब्रह्मा (सरस्वती), संरक्षण र नियमित सञ्चालनको शक्ति विष्णु (लक्ष्मी) र पुनः निर्माणको नियतले विनाश गर्ने शक्ति शिव (पार्वती) शक्तिको (देवताहरूको) तीन गुणहरूको सूचकको काम गर्दछ।

अर्को शिखामा रहेका तीन डोराले समग्रमा शरीर (Body & Brain कर्म), मन (Mind ज्ञान योग) र वाणीको (Sound & Vibration उपासन Spiritual Practices) प्रतिनिधित्व गर्दछ।  यसलाई मनोदण्ड, वाग्दण्ड र कार्य दण्ड मतलव मन, वाणी र शरीरलाई संयममा राखी मन, वचन र कर्मको सुद्धकरण गर्ने कार्य नियमित कायम राख्ने सङ्कल्पको रूपमा लिने गरिन्छ। अर्को तीन डोरा ऋषि ऋण (ज्ञान प्राप्ति बापतको ऋण), पितृ ऋण (पुर्खाको बलिदानको ऋण) र सृष्टिकर्ताको ऋणको (जीवित रहने सौभाग्य प्राप्तिको ऋण) जिम्मेवारी बोधको सूचक ठानिन्छ।

तीन सुते जनैको नौ वटा धागोले पन्च माहाभुतको पाँच गुण (आकाश, वायू, अग्नि, जल तथा पृथ्वी तत्त्वहरू), सूर्य (सृष्टिकर्ता द्वारा रोपिएको बीउ अर्थात् सात रङ्गिन किरण मिश्रित सूर्यको सेतो किरण तथा औषधीय गुणको सार तत्त्व निर्माण गर्न चन्द्रमा मार्फत परावर्तित प्रकाशको किरण सोम), पितृ (हाम्रा अभिभावकले रोपेका बीउजेनेटिक तथा इभोलुसनरी आनुवंशिक गुण) तथा कर्मिक स्मरण (तत्कालीन जीवनको अनुभूतिको स्मरण) प्रतीकको रूपमा समेत लिने गरिन्छ।

जीवनको समग्र संरचनाको बारे हामीलाई सुसूचित गर्ने र मानव लगायतको सम्पूर्ण जगतको अस्तित्वको संरक्षणमा हाम्रा हरेक कार्यहरू प्रकृति मैत्री रहन किन जरुरी रहेको छ भन्ने नियमित अनुभूति गराउने नियत देखिन्छ।

त्यसै भएर जनै धारण गर्ने वेलामा भनिने तलको मन्त्रको अर्थ निकै पेचिलो हुने गरी बनाइएको छ।

ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।

आयुष्यमग्र्यं प्रतिमुञ्चशुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।

नवभिस्तन्तुभिर्युक्तं त्रिगुणं देवतामयम् ।

उपवीतं मया दत्तं गृहाण गणनायक ॥

मन्त्रको शब्दार्थ नजिकको भावार्थस् प्रजनन मार्फत उत्पत्ति हुने र जीवनको बिस्तार गर्ने  सम्पूर्ण जीवहरूको वास्तुकार तथा जीवनको रक्षकको रूपमा रहनु भएको विष्णु शक्ति रुपी प्रजापतिले सूर्यको प्रकाश, चन्द्रमाको प्रकाश (सोम) र तेज ऊर्जा आदि मार्फत निर्मित जीवनको यथार्थ पक्षको प्रतिनिधित्व गर्ने गरी नौ धागोहरूको उपयोग गरी तिन डोरो वाट यो पवित्र यज्ञोपवीत (जनै) को निर्माण भएको छ। यसका तिन पयाले तीन गुण (सत्त्व, रज र तम) र नौ धागोहरूले जीवनको निर्माण र सञ्चालन गर्न भूमिका खेल्ने नौ शक्तिहरूको प्रतिनिधित्व गर्दछ। सूर्यको सेतो किरणको प्रतीकको रूपको सेतो धागो निर्मित पवित्र जनैले मलाई सदैव आफ्नो कर्तव्य बोध गराउँदै धर्मको बाटोमा अधि बढ्न प्रेरित गरी राख्ने छ।

यथार्थमा राखीको प्रयोजनको सन्दर्भमा दाजु–बहिनी बिचको पवित्र प्यार र बलिदानको समेत स्मरण गराउने गरी डोरो बाँध्ने जनैको प्रतिस्थापन राखीको लागि उपयोग गरिने डोरोले गर्दछ। आफ्ना प्रिय दिदी( बहिनीहरूले लगाइदिने राखिको डोरी बाँध्ने क्रममा दिदी बैनीको मनोभावको कामना वा आशीर्वादको रूपमा तलको मन्त्रले दिने अर्थलाई लिने गरिन्छ।

यदाबध्नन्दाक्षायणा हिरण्यं शतानीकाय सुमनस्यमानाः।

तत्ते बध्नाम्यायुषे वर्चसे बलाय दीर्घायुत्वाय शतशारदाय ॥

मन्त्रको शब्दार्थ नजिकको भावार्थस् जसरि राष्ट्रको शुभचिन्तक एक शूरवीर दूरदर्शी विद्वानले आफ्नो परिस्थिति जन्य उपयोगमा ल्याउन सकिने ज्ञान,  विज्ञान र उपलब्ध साधन श्रोतको सदुपयोग गर्दै आफ्नो सुरक्षा संयन्त्र मजबुत पार्दै राज्यको रक्षा गर्न र राष्ट्र लाइ संवृद्ध पार्न समेत सफल बन्दछ, ठिक त्यसै तवरले आफ्नो पहुँचको ज्ञान तथा विज्ञानको समयको माग अनुरूप सदुपयोग गर्न र आफूलाई उपलब्ध ऐश्वर्यको बुद्धिमत्ता पूर्ण सदुपयोग गर्दै आफ्नो कीर्ति, सद्भाव र करुणाको बलले आफ्नो उद्देश्य प्राप्त गर्न, पवित्र समाज सेवामा लाग्न तथा तिम्रो जीवनलाई सफल तुल्याउन सकोस् भनी कामना गर्दै यो राखी म तिम्रो कर्मठ पाखुरामा लगाइदिन्छु।

जनै पूर्णिमाको श्रावण नक्षत्रको पूर्णिमा भएकोले श्रावणी पूर्णिमा, त्यस दिन हुने स्नानलाई श्रावणी स्नान,  ऋषिहरुलाई गरिने पूजा र तर्पण ऋषि तर्पणीको दिन भनिएको हो। यो पूर्णिमामालाई शास्त्रले जनै फेर्ने तिथि तोकिएकोले यसलाई जनै पूर्णिमा भनिएको हो। शास्त्रले नै सोही दिनलाई हरेक व्यक्तिले रक्षा सूत्रको प्रतीकको रूपमा हातमा डोरो वा राखी आदि ग्रहण गर्न उत्तम दिन भनी तोकिदिएकोले यसलाई रक्षा बन्धन समेत भन्ने गरियो।

स्मृति शास्त्र अनुसार तर्पण भनेर देवता, ऋषि र पितृ हरूको नाउँ लिएर कुश तिल सहित अँजुली वा अर्घ द्वारा जल दान गरी उनीहरूको देनको लागि उनीहरू प्रति आफ्नो धन्यता प्रस्तुत गर्नु हो। जब उक्त तर्पण ऋषि प्रति हुने गर्दछ त्यसलाई ऋषि तर्पणी भनिन्छ।

ऋषि तर्पणी कार्यको लागि पहिले आफूलाई श्रावणी महास्नान गरी शुद्ध गरिन्छ। श्रावणी महास्नानको लागि  बिहानै उठी पञ्च गव्य सेवन गरी विविध आयुर्वेदिक औषधी बन्ने जडीबुटी एवं पदार्थहरू जस्तैस् कुश, दूबो, अपामार्ग (दतिवन), तिल, जौ, शुद्ध माटो, सप्तमृत्तिका (तबेला, हात्तीसार, गाई गोठ, तीर्थस्थल वा तालको किनार, राजद्वार वा न्यायालय द्वार, गुरुद्वार, नदीको सङ्गमको स्थान गरी सात स्थानको माटो), गाईको गोवर, खरानी र तिलक (भस्म) आदिले जलाशयमा गएर वैदिक मन्त्र उच्चारण गर्दै नुहाउने गरिन्छ।

देवताहरूलाई जस्तै ऋषिहरूलाई पनि देव तीर्थमा पुगी अञ्जलीमा जल दिने कार्यलाई ऋषि तर्पणी भनिएको छ। यथार्थमा प्रायस् तर्पण दिइने ऋषिहरूमा व्यास, वसिष्ठ, याज्ञवल्क्य, कात्यायन, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र, नारद, चरक, सुश्रुत, पाणिनी, दधीचि आदि पर्दछन्।

ऋषितर्पण ज्ञात अज्ञात ऋषिहरूले समाजमा ज्ञान प्राप्तिको लागि गरेको महान् कार्य प्रति श्रद्धा व्यक्त गर्दै त्यस वाट आफ्नो जीवनमा हुन गएको सहजता बापत उनीहरूलाई धन्यवाद ज्ञापन गर्ने र आफूले धन्यताको महसुस गर्ने शुभ अवसरको रूपमा ग्रहण गरिन्छ।

स्नान र तर्पणको वैदिक मन्त्र

ॐ मरीच्यादि दशऋषयः आगच्छन्तु गृह्णन्तु एतान्जलाञ्जलीन्।

ॐ मरीचिस्तृप्याताम्। ॐ अत्रिस्तृप्यताम्। ॐ अंगिराः तृप्यताम्।

ॐ पुलस्त्यस्तृप्यताम्। ॐ वसिष्ठस्तृप्यताम्। ॐ क्रतुस्तृप्यताम्।

ॐ वसिष्ठस्तृप्यताम्। ॐ प्रचेतास्तृप्यताम्। ॐ भृगुस्तृप्यताम्।

ॐ नारदस्तृप्यताम्।

वैदिक स्नानले तन र मनको शुद्धि लाई जनाउने गर्दछ। तनको शुद्धि अन्तर्गत शरीरको फोहर फाल्ने कार्य पर्दछ। शरीर बाहिरको फोहर पानी र नुहाउने पदार्थहरूले केही सुद्ध गरिदिन्छ। शरीर भित्रको फोहर सफा गर्न जडीबुटीका सार तत्त्व, जप, साधना, आराधना, मेडिटेसन (ध्यान), सूर्य स्नान, वातावरणको सान्निध्य जाने आदि कार्य सहयोगी हुन्छ।

मानिसको दिमाग समेत भौतिक वस्तुनै रहेकाले दिमागमा वास गर्ने काम (काम वासना, यौनेच्छा वा आशक्ति), क्रोध (रिस र आक्रोश), लोभ (प्राप्तिको चाहना), मोह (देह र सांसारिक वस्तुलाई नै सर्वस्व ठान्ने भ्रम वा लट्ठिने खालको प्रेम), मद (अहङ्कार) र मात्सर्य (ईर्ष्या) आदि जस्ता वास्तविक सुख प्राप्तिमा वाधक हुने प्रमुख फोहरहरूवाट मुक्ति लिने कार्य समेत स्नान नै हो।

जब तपाईँ भौतिक फोहरहरू वाट मुक्त बन्नु हुन्छ तब महास्नान अन्तर्गत स्नानमा तपाइको शरीरको रोग प्रतिरोधी क्षमता बढाउने शक्ति थप्ने कार्य तथा मन शुद्धिको चरण थपिने गरिन्छ। मन शुद्धि अन्तर्गत मानिसलाई मनोवैज्ञानिक रूपमा प्रकृतिमैत्री जीवन जिउन र प्रकृति नियमको सिद्धान्त अनुरूप आफ्ना कर्महरू सञ्चालन गर्न सङ्कल्पकृत गराइन्छ।

आफूले गरेको त्यस प्रकारको सङ्कल्प अनुरूप उसले आफ्ना गतिविधि सञ्चालन गर्नु लाई धर्म कार्य गरिएको र त्यसको विपरीत हुने गरि सञ्चालन हुने कर्मलाई अधर्मी कर्म ठानिन्छ। वैदिक मान्यताले प्रकृति नियमको सिद्धान्त अनुरूप आफ्ना कर्महरू सञ्चालन गर्ने सम्पूर्ण धार्मिक कार्यले मानिसलाई आफ्नो जीवनको उद्देश्य अर्थात् स्थायी चरम सुखको प्राप्तिको विन्दुमा पुग्न सहज गराउने गर्दछ।
 

प्रतिक्रिया