झापाको बिर्तामोडमा यो बर्ष पनि श्रीकृष्ण रथयात्रा हुने
झापा । झापाको बिर्तामोडमा यो बर्ष पनि श्रीकृष्ण रथयात्रा हुने भएको छ ।
श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो । तर, यस पटक यी दुवैको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए ।
श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आगामी भदौ ११ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । भगवान् श्री कृष्णको जन्म उत्सवको अवसर पारेर गर्न लागिएको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।
भदौ १० गते साझ ६ बजेदेखि राती १२ बजे सम्म भब्य श्रृंगार, श्री कृष्ण जन्म , श्री कृष्ण लीला , शिव तांडव, गणेश जीको झांकी दर्शन, राधा रानी झांकी दर्शन लगायतका कार्यक्रम हुने पनि कार्यक्रम संयोजक तथा अग्रसेन भवन अन्तर्गत श्री बालाजी धाम व्यवस्थापन समितिले जनाएको छ ।
भदौ ११ गते विशेष पूजाअर्चाना गरिने र दिउंसो ३ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने बताइएको छ । रथयात्रा बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ । सद्गुरु सदनले दुई वर्ष अघि पनि एकल रथयात्रा निकालेको थियो । तर, अघिल्लो बर्षदेखि भने बालाजी मन्दिरसँग सहकार्य गरेर संयुक्त निकाल्दै आएको छ ।
प्रतिक्रिया