चन्द्रागिरी हिल्स, दिव्यश्वरी र आँखुखोला हाइड्रो लगायतले बदमासी गरेर सेयरको भाउ बढाए


काठमाडौं । चन्द्रागिरी हिल्स,दिब्यश्वरी हाइड्रो पावर, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी कमजोर अवस्थाका कम्पनीहरु हुन् । 

तर चलखेलमा उनीहरुले सेयरको मूल्य बढाएर लगानीकर्तालाई डुवाउन खोजेका छन् । देशको नीति निर्माण तहमा रहेका सांसदहरुले नै यी कम्पनीहरुले इन्साइडर ट्रेडिङ गरेर बदमासी गरेको बताएका छन् । बिहिबार  प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरुले सेयर बजारमा सूचिकृत भएका ती कम्पनीहरुको नामै तोकेर सेयरको मूल्य बढाएकोप्रति आपत्ति जनाएका छन् । अर्थसमितिमा बोल्ने क्रममा नेकपा समाजबादीका सांसद मेटमणी चौधरीले कमजोर अवस्थाका ती  कम्पनीको मूल्य  अनावश्यक रुपमा बढाइएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए । 

चौधरीले  चन्द्रागिरी हिल्स, आँखुखोला जलविद्युत कम्पनी, दिव्यश्वरी हाइड्रो लगायतका कम्पनीको सेयर मूल्यमा अस्वभाविक मूल्य वृद्धि भएको र सेयर बजारमा इन्साइडर ट्रेडिङ र चलेखल भइरहेको भन्दै इन्साइडर ट्रेडिङकै कारण बजार अस्वभाविक रुपमा उचालिएको टिप्पणी गरे । यस अघि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले चन्द्रागिरी हिल्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सिएचडिसी लगायत कम्पनीले कृत्रिम रुपमा सेयरको भाउ बढाएको बताएका थिए । उनले  इन्साईडर गरेर सेयर मूल्य बढाइएको भन्दै त्यसको अनुगमन गर्न माग गरे । ती कम्पनीको ‘बजारमा बुक भ्यालू (खुद मूल्य) नेटवर्थ धेरै नै कम हुँदा हुँदै पनि सेयर मूल्य बढाएको भन्दै सांसदहरुले प्रश्न उठाए ।

 यसलाई धितोपत्र बोर्डले अनुगमन गर्नुपर्नेमा सांसदहरुको जोड छ । ती कम्पनीहरुले पहँुच र मिलेमतोमा सेयरको मूल्य बढाएको सांसदहरुको भनाई छ । सेयरधनीलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका  कम्पनीहरुको सेयर मूल्यमा  अस्वभाविक रुपमा चलखेल भएको भन्दै यसप्रति गम्भीर बन्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस सांसद डा. प्रकाश शरण महतले नेप्सेभित्रै (नेपाल स्टक एक्सचेन्ज)बाट इन्साइडर ट्रेन्डिङ भएको भन्दै नेप्सेका अधिकारीलाई छलफलमा बोलाउन माग गरे । एक महिना अघिसम्म कम मूल्य रहेका सेयर एक महिना पछि मूल्य बृद्धि गरेर तेब्बर सम्म पारिएको छ । कतिपय कम्पनीका संस्थापक र संचालक  इन्साइडर ट्रेन्डिङ मार्फत मूल्यबृद्धि गरेर सेयर अरुलाई बेचेर टाप कस्ने  र बढेको मूल्यमा सेयर खरीद गर्ने ब्यक्ति डुब्ने गरेका छन् । धितो पत्र बोर्डले यसबारे अनुगमन गर्न सकेको छ्रैन । 
के हो इन्साइडर ट्रेडिङ ?
कुनै व्यक्तिले सार्वजनिक भइनसकेका भित्री सूचना चुहाएर गरिने सेयर कारोबार नै इन्साइडर ट्रेडिङ (भित्री कारोबार) हो । धितोपत्र ऐनमा ‘भित्री सूचना वा जानकारी भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सम्झनुपर्छ’ भनेर दफा ९१ मा भनिएको छ । धितोपत्र सम्बन्धी ऐन नियमको व्यवस्था बमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोवार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । तर यस्तो प्रकारको कारोवार गर्न धितोपत्र सम्बन्धी ऐननियमले बन्देज गरेको छ ।

कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्न सक्ने, तर सार्वजनिक नभएका सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ । इन्साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखा परीक्षक लगायतको संलग्नता हुने सम्भावना उच्च हुन्छ । पहुँच भएका व्यक्तिहरुले आफूलाई हित हुने गरी इन्साइडर ट्रेडिङ गरेका हुन्छन् ।

इन्साइडर ट्रेडिङ मार्फत सेयर बजारमा  नेपाली जनताको अरबौँ रुपैयाँ ठग्ने काम भइरहेको छ । चन्द्रागिरी हिल्सका संचालक चन्द्र ढकाल हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । त्यसैगरी दीपेन्द्र अग्रवाल  नेपाल फाइनान्स लिमिटेडका संचालक हुन् ।  दधिराम निरौला दिव्यश्वरी हाइड्रोपावरका अध्यक्ष हुन् ।आँखुखोला जलबिद्युतका अध्यक्ष  राम श्रेष्ठ हुन् ।

स्रोतका अनुसार उनीहरुले मिलेमतोमा घाटामा रहेका कम्पनीलाई सेयर मूल्य बढाएर बदमासी गरेका छन् । 

प्रतिक्रिया