सुरक्षाको माग गर्दै बंगलादेश प्रहरीद्धारा हड्तालको घोषणा

एजेन्सी । बंगलादेश प्रहरी अधीनस्थ कर्मचारी संघले आफ्नो सुरक्षाको लागि भन्दै अनिश्चितकालीन हड्तालको घोषणा गरेको छ । संघले मंगलबार दिउँसो यस सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीका प्रत्येक सदस्यको सुरक्षा सुनिश्चित नभएसम्म हडतालको घोषणा गरेको बताएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएपछि प्रहरीमाथि हमला, प्रहरीको हत्या, तोडफोड र आगजनीका घटना भइरहेको संघले जनाएको छ  । आन्दोलनकारीहरुको  निशानामा भएकाले पुलिसहरू जीवनको डर र असुरक्षाबाट पीडित बनेको संघको भनाई छ । विज्ञप्तिमा संघले प्रदर्शनकारीहरू विरुद्ध प्रहरी कारबाहीका लागि माफी पनि मागेको छ।

विद्यार्थी आन्दोलनको क्रममा देशका करिब ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन्। सोमबार सरकार ढलेपछि प्रहरी प्रधान कार्यालयमा पनि आगजनी गरिएको थियो । ढाकालगायत देशका विभिन्न जिल्लाहरूमा सयौं प्रहरी चौकी र प्रहरी प्रतिष्ठानहरूमा तोडफोड र आगजनी भएका छन्।

मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू देखिएका छैनन् ।बंगलादेश प्रहरीका एडिसनल इन्स्पेक्टर जनरल सोहेल राननाले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी अधिकारी र प्रहरी चौकीहरूमा क्षति नपुर्‍याउन अनुरोध गरेका छन्। 
यस अवस्थामा प्रहरीको सुरक्षाका लागि संघले अगस्ट ६ गतेदेखि अनिश्चितकालीन राष्ट्रव्यापी बन्दको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया