गल्ती गर्ने कोही बच्नु हुँदैन, ममाथि पनि अनुसन्धान गर्नूस्: रवि लामिछाने

कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्। गृह मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए।

आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको उनले बताए। आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको दाबी उनको छ।

 उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए। गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने बताए। सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भएपनि राज्यका सुरक्षा निकायको गोपनियतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए। उनले  सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गरेका छन्।

उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताए।

उनले कयौँ विषयहरु भगबण्डामा टुंगिने गरेको भन्दै एउटा बिन्दुमा आएर देशलाई भागबण्डाबाट निकाल्नुपर्ने बताए। दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा उभिएर सरकार बनाउनु चुनौतिपूर्ण कुरा भएको उनले बताए।

प्रतिक्रिया