लिङ्देनले रोस्टममा उभिएर अर्थमन्त्री खोजेपछि बैठक स्थगित

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।बजेटमाथि छलफल भएको र अर्थमन्त्रीलाई आफ्ना कुरा सुनाउनुपर्ने लिङ्देनको भनाइ थियो। उपसभामुख इन्दिरा राना मगरले बैठक सञ्चालन गरेकी थिइन्।

उपसभामुख रानाले लिङ्देनलाई कुरा राख्दै गर्न र अर्थमन्त्री पुनलाई बैठकमा आउन खबर पठाइएको जानकारी गराएकी थिइन्। तर लिङ्देन मानेनन्, अर्थमन्त्री वा सरकारका कुनै मन्त्रीले जिम्मेवारी लिने भए आफू बोल्ने अडान राख्दै रोस्टममै उभिइरहे।
‘कसले सुनिदिनुहुन्छ त मेरो कुरा ? उहाँलाई धन्यवाद दिन पनि .. के हुन्छ यस्तो बेला ?, मन्त्री त हुनुपर्‍यो होला कि उहाँको बदला कसैले सुन्नुपर्‍यो’, लिङ्देनले भने । त्यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा जवाफ दिन जानुभएको र केही बेरपछि आउने भन्दै लिङ्देनलाई बोल्न आग्रह गरिन् ।
त्यस क्रममा सभामुख र लिङ्देनबिच दोहोरी नै चल्यो । त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे । यसपछि राप्रपाका सांसदहरू बसेको ठाउँबाट उठेका थिए। बजेटमाथि छलफल हुँदा अर्थमन्त्री बैठकमा हुनुपर्ने भए पनि नभएकोमा आवाज उठाउँदा 'दोहोरी खेलेको' एमाले सांसदले बताएपछि राप्रपाले आपत्ति जनाएको थियो। त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ भनेर प्रश्न गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैपटक भएकाले अर्थमन्त्रीले अर्को बैठकमा जवाफ दिइरहेकाले यस्तो अवस्था आएको जानकारी दिइन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।

प्रतिक्रिया