गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको इजरायली सेनाको भनाइ

बन्धक रिहा र गाजामा युद्धपछिको योजना बनाउन दबाब

 

इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको हो । रोन वेन्जामिनलाई प्यालेस्टिनी विद्रोही समूह हमासले गएको अक्टोर ७ मा इजरायलमा आक्रमण गर्दा बन्धक बनाएको थियो । यसअघि अस्ति शुक्रवार तीन जना बन्धकको शव भेटेको थियो । यता इजरायली युद्ध मन्त्रिपरिषद्का मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको लागि युद्धपछिको योजना नबनाए राजीनामा दिने धम्की दिएका छन ।
गाजामा हमास शासनको अन्त्य र बहुराष्ट्रिय नागरिक प्रशासन स्थापनासहित छ वटा रणनीतिक लक्ष्य प्राप्त गर्ने योजना नबनाए राजीनामा दिने धम्की उनले दिएका हुन ।  उनले योजना बनाउन यही जुन आठ तरिखसम्मको समय दिएका छन । प्रधानमन्त्री नेतान्याहूमाथि बन्धक रिहा र गाजामा युद्धपछिको योजना बनाउन देशभित्र दबाब बढ्दै गएको छ । हिजो मात्रै उत्तरी गाजापट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो । मृतकमध्ये अधिकांश बालबालिका र महिला छन् । अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका छन । इजरायली सेनाले हवाइ र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा धेरै मानिसको मृत्यु भएको छ । इजरायली सेनाले बुलडोजरले पसल र घर भत्काएको यहाँका बासिन्दाले बताएका छन् ।। 
 

प्रतिक्रिया