स्टिङ अपरेशनसम्बन्धि समाचार २४ घण्टा भित्र हटाउन सिधा कुरा डटकमलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्टिङ अपरेशनसम्बन्धि समाचार २४ घण्टा भित्र हटाउन आदेश दिएको छ । सिधा कुरा डटकमले मुद्दा हराउन सर्वोच्च अदालतको न्यायाधीश समेतको मिलेमतो रहेको दाबीसहितको समाचार प्रकाशन गरेपछि अदालतको अवहेलना सम्बन्धि मुद्दा परेको थियो । सोही मुद्दाको सोमवार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सुनुवाई गर्दै युट्युवमा राखिएको सो सम्बन्धि समाचारको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो । 
गत वैशाख १४ गते शुक्रवार सिधा कुरा डटकमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुससम्बन्धि मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश, एक न्यायाधीश र केही मिडिया सञ्चालकहरुले बैठक गरेको दाबी सहितको समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले सो समाचारले न्याय सम्पादनमा समेत प्रभावित पार्ने भएकाले त्यस्ता समाचार प्रशारण नगर्न सबै सञ्चार माध्यामलाई समेत आदेश दिएको छ । सर्वोच्चले यस विषयमा अदालतको अवहेलनामा किन कारबाही र सजाय गर्नु नपर्ने हो त्यसरी कारबाही गर्नु नपर्ने आधार र कारण भए २० वैशाखको विहान १० बजेभित्र अदालतमा उपस्थित हुन सिधाकुरा डटकमका प्रकाशक र कार्यकारी सम्पादकलाई आदेश दिएको छ ।

प्रतिक्रिया