स्वदेश फर्किए कतारका राजा थानी

कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका अल थानी आज दिउँसो स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको समारोहमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको छ। 

कतारका अमिर थानीको नेपालको राजकीय भ्रमणका अवसरमा नेपाल र कतारबीच कला, संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ। कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटेलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरूको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदान–प्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

यसैगरी, युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारीस्तरमा भएका समझदारीपत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन्। 

यसैगरी, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सका बीचमा पनि लगानी आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ बिन जसिम अल थानीले हस्ताक्षर गरेका थिए। 

प्रतिक्रिया