तराईमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, जनजीवन कष्टकर बन्दै

तराईका जिल्लाहरुमा तापक्रम चालिस डिग्री सेल्सियस नाघ्न थालेको छ । गर्मी बढेसँगै जनजीवन पनि कष्टकर हुन थालेको छ । प्रि मनसुन नहुनुका साथै आगलागी, प्रदूषण तथा खडेरीका कारण गर्मी दिनहुँ बढिरहेको हो । विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढी, सिमराको तापक्रम सबैभन्दा बढेको छ । अहिलेसम्म यस वर्षकै सबैभन्दा बढी भैरहवामा ४३.६, नेपालगन्जमा ४०.७, धनगढीमा ४०.६, जनकपुरधाममा ४०.२ र विराटनगरमा ३६.७ डिग्री सेल्सियस मापन गरिएको छ । सर्वसाधारणले गर्मी र चर्को घामबाट जोगिन रुखमुनि विश्राम गर्नुका साथै लस्सी, सातु, जुससँगै पानी धेरै खान थालेका छन् । यसका साथै काँक्रो, तरबुजा र शीतलता प्रदान गर्ने हरियो तरकारीको बिक्री पनि बढेको छ । गर्मी बढेसँगै तराईमा तातो हावा अर्थात् लू चल्न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीको आग्रह छ । गर्मी बढेसँगै स्वास्थ्यमा पनि विभिन्न समस्या निम्तन सक्ने भएकाले सतकर्ता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।  गर्मीमा झाडापखाला, टाइफाइड, जन्डिसलगायतको समस्या बढ्ने गर्दछन । मुटुको धड्कन बढ्ने, बेहोस हुने, बान्ता हुने, वाकवाकी लाग्ने लगायतका समस्या समेत हुने गर्दछन । चिकित्सकहरुले दिउँसोको समयमा बाहिर ननिस्कने, बाहिर निक्लनै परे छाता वा शरीर ढाकिने गरी पातलो कपडाको प्रयोग गर्ने, बासी तथा सडेगलेको खाना नखाने, प्रशस्त पानी तथा फलफूलको प्रयोग गर्ने र खेतबारीको काम विहान वा बेलुका गर्नेजस्ता सावधानी अपनाउन सुझाव दिएका छन ।
 

प्रतिक्रिया