आज रातिबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उपनिर्वाचनको प्रचारप्रसार आज रातिसम्मको समय सीमा रहेको हो । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधि भन्दा अघि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनता माझ पुगेर भोट माग्दैछन् । नेकपा एमालेले चुलाचुलीमा सभा गर्दैछ । अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले सभामा सम्बोधन गर्नेछन । नेपाली कांग्रेसले मंगलबार चुलाचुली गाउँपालिकामा अन्तिम चुनावी सभा गरेको छ । पहिचान पक्षधरको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको अन्तिम चुनावी सभा चुलाचुली गाउँपालिका–४ आइतबारेमा हुँदैछ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजार र इलाम नगरपालिका–५ विब्ल्याटेमा अन्तिम चुनावी सभा गर्दैछ ।  इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि ११ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल १९ जना प्रतिस्पर्धामा छन । बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि ११ जनाले उम्मेदवारी दिएका छन । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् । आगामी वैशाख १५ गते शनिवारका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ । 
 

प्रतिक्रिया