प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र अमिरबीच सोल्टी होटलमा भेटवार्ता भएको हो । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलका क्रममा कतारका अमिर थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् । उनले आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए ।साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो । विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका छन । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति पौडेलले हिजो  अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए ।  राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए । सो भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा हिजो साँझ राजकीय भोजको आयोजना पनि गरेका थिए । कतारी विशिष्ट अतिथि आजै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया