१८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै

काठमाडौं । १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे । जनताको विजय भएको खुसीयालीमा वि.सं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । १९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनस्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको हो । हाल भने लोकतन्त्र स्थापना भएको दिन बैसाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा हुँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गर्नुका साथै औपचारिक कार्यक्रम पनि आयोजना गरेको छैन ।  यसको सट्टा सरकारले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक बिदा दिने गरेको  छ । नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको उक्त आन्दोलन नेपालको राजनीति यात्रामा महत्वपूर्ण मानिन्छ । तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई गरिएको सो आन्दोलनको जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गरिएको थियो ।  तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनस्र्थापना गरेका थिए । २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेको थियो । २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएको हो । यसैको जगमा  संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षदेखि रहेको राजसंस्थाको विधिवत अन्त्य गर्दै गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।
 

प्रतिक्रिया