कतारका राजा थानी आज दुई दिने राजकीय भ्रमणमा अपरान्ह काठमाडौं आउदै

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिल हमाद अल थानी आज नेपालको राजकीय भ्रमणमा आउदैछन ।  अपरान्ह ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अमिर शेखलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नेछन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । सरकारले भ्रमणका अबसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । कतारी अमिरले आज नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आजै साँझ राजकीय भोजको आयोजना गर्नेछन् । त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन् । भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्नेछन् ।। 

प्रतिक्रिया