वामपन्थी शक्तिहरूबिच सहकार्यका साथ लक्ष्यमा पुग्न अग्रसर हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताएका छन । आज प्रधानमन्त्री दाहालले लेनिन जन्मजयन्ती र नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै सो कुरा बताएका हुन । प्रधानमन्त्री दाहालले वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको उल्लेख गरेका छन । सन्देशमा जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण भएको दाबी गरिएको छ । उनले वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा आफु अग्रसर भएको पनि बताएका छन । वामपन्थी सहकार्यले बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नुका साथै सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक हुने दाहालको दाबी छ । उनले विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबिच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्नुपर्ने पनि बताएका छन ।। सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पु¥याउनु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
 

प्रतिक्रिया