सत्तारुढ नेकपा एमालेको प्रतिनिधि परिषदमा आज प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पेस भएका प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदै छ । हिजो पेस भएका प्रतिवेदनमाथि आज छलफल हुन लागेको हो । बैठकमा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहराका प्रतिवेदनमाथि छलफल हुने भएको हो । प्रतिवेदनलाई आज पारित गरेर बैठक समापन गर्ने तयारी छ । पार्टीले शनिबारको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो । परिषद्को प्रथम बैठकमा शनिबार अध्यक्ष ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आंकाक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।  एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ।  परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन । 

प्रतिक्रिया