बाग्लुङ निसीखोला बस दुर्घटनमा ज्यान गुमाउनेको संख्या नौ पुग्यो

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा सडकबाट बस खस्दा मृत्यु हुनेको संख्या नौ पुगेको छ । सात जनाको घटनास्थलमा र दुईको उपचारका लागि बुर्तिवाङ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपालीको मृत्यु भएको हो । त्यस्तै मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो । त्यहापनि उपचार सम्भव नभएकालाई पोखरा पठाइएको छ । रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस साँझ सवा ५ बजे दुर्घटनामा परेको होरु। चालकसहित ३३ जना सवार बस सडकबाट १ सय ५० मिटर तल खसेको थियो । यसैविच प्रधानमन्त्री पुष्पकमल दाहालले बाग्लुङमा बस दुर्घटना भएकोप्रति दुख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा ज्यान गुमाउने यात्रुहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन । प्रधानमन्त्री दाहाले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्नसमेत अनुरोध गरेका छन ।। 
 

प्रतिक्रिया