नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी शृंखलाको फाइनल प्रवेश

काठमाडौं । नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी शृंखलाको फाइनल प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज विहान सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी पिएनजी लाई ८५ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ दशमलब १ ओभरमा १ सय १३ रनमा समेटिएको हो । पिएनजीका लागि हिरी हिरीले २८, सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए । यसैगरी प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्सन झाले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रनको १ सय ९८ योगफल तयार पारेको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ५६, विनोद भण्डारीले २७, विवेक यालवले अविजित १९, गुल्सन झाले अविजित १५ र लोकेश बमले १४ रन बनाए । पिएनजीका लागि कप्तान असाद भालाले दुई तथा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक विकेट लिए । यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ । आजै हुने पिएनजी र हङकङबीचको खेलले फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ ।
 

प्रतिक्रिया