मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दै

काठमाडौः न्यायको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ । सरकारले शुक्रबार पनि उनीहरुसँग वार्ता गरेको थियो  । शुक्रबारको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्ने सम्भावना रहेको मिटरब्याज पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले  बताए। आज वार्ता हुने भनिए पनि समय भने निश्चित भइसकेको छैन। मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले न्यायको लागि अधिकार सम्पन्न आयोग गठन गर्नुपर्नेसहितका ६ बुँदे माग राखेर विगत एक महिनादेखि आन्दोलन गर्दै आएको छ। उनीहरु २३ दिन हिँडेर एक साताअघि काठमाडौँ आइपुगेका हुन्। काठमाडौँ आएपछि उनीहरुले दिनहुँ धर्ना र जुलुशसहितका कार्यक्रम गर्दै आएका छन्। संघर्ष समितिले कुशवहाको संयोजकत्वमा वर्ता समिति बनाएको छ। सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता हुँदै आएको छ। गएको बुधबार पनि मिटरब्याज पीडित र सरकारबीच वार्ता भएको थियो। बुधबारको वार्ता निष्कर्ष विहीन भएपछि शुक्रबार साँझ पुन सरकार र मिटरब्याज पीडितबीच वार्ता भएको हो। उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। फर्जि लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन्। साहुहरुको सम्पत्ति छानविन गर्नुपर्ने, अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका मुद्दा पनि आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने माग उनीहरुको छ। 

प्रतिक्रिया