त्रिदेशीय टी–ट्वान्टी: नेपालद्धारा नामिबिया ३ रनले पराजित

त्रिकोणात्मक टी–ट्वान्टी आई शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको आफ्नो तेस्रो तथा सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रनमा समेटियो । नामिबियाका लागि जेजे स्मिटले ५०, जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, ग्रीनले २३, ट्रम्पलम्यानले १४, माइकल भानले १० रन बनाए । त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अविजित ५४, आरिफ शेखले ३१, अनिल शाहले २३, गुलसन झाले २६, दीपेन्द्रसिंह ऐरीले १६ रन बनाए । जितसँगै २ अंक जोडेको नेपालले फाइनल पुग्ने संभावना कायमै राखेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भीड्नेछन् । फाइनल खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया