त्रिकोणात्मक सिरिजमा नेपाल नामिबियासँग पराजित, दोस्रो प्रतिस्पर्धा नेदरल्याण्ड्ससँग

नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टि–२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको छ । आज त्रिवि मैदानमा नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल १८.५ ओभरमा अलआउट हुँदै १ सय ८६ रनमा समेटिएको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८,  कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल काकीले २६, गुलसन झाले १२ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलमेनले ४, बर्नार्ड शोल्ट्ज, जान फ्राइलिन्क र जान निकोनले समान दुई दुई विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । नामिबियाको लागि जान निकोल लोफ्टि–इटनले विष्फोटक ब्याटिङ गर्दै १ सय १ रन बनाए । उनी टी–ट्वान्टी आईमा सबैभन्दा छिटो शतक पूरा गर्ने खेलाडी समेत बने । उनले ३३ बलमा शतक प्रहार गर्दै नेपालका कुशल मल्लले राखेको ३४ बलमा शतक बनाएको कीर्तिमान तोडेका हुन् । त्यस्तै, नामिबियाका लागि ओपनर मलान क्रुगरले अविजित ५९, ओपनर माइकल भान लिंगेन २०, जेपी कोट्जेले ११ रन बनाए । नेपालका लागि कप्तान रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहराले समान एक एक विकेट लिए । नेपालले अब दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।।

प्रतिक्रिया