बारा वर्कसप विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

बाराको निजगढ– ७ स्थित गाडी मर्मत गर्ने कारखाना ग्यारेज मा सोमबार भएको शंकास्पद वस्तु विष्फोटको घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विष्फोटमा परि गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका –९ का २० वर्षीय रितु रजतको आज उपचारका क्रममा मृत्यु भएको हो । रजतको बयोधा अस्पतालमा उपचार भइरहेको थियो । सो घटनामा परि यसअघि ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत गुवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको थियो ।  घटनामा अन्य तीनजना घाइते छन् । घाइतेमध्ये भारत रामगढवाका २० वर्षीय अरविन साहको अवस्था गम्भीर छ । साहको बयोधा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी घटनामा वीरगन्ज ९ का फिरोद देवान र निजगढ ५ का सूर्यबहादुर थापा सामान्य घाइते छन् । निजगढ– ७ स्थित रोहित वर्कशपमा विष्फोट भएको उक्त शंकास्पद वस्तुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले के विष्फोट भएको हो भन्ने खुलाएको छैन । यसअघि सिलिण्डर पड्किएको भनेर सूचना प्रवाह गरेको प्रहरीले आफ्नो सूचना सच्याउँदै शंकास्पद वस्तु विष्फोट भएको जनाएको छ ।  विष्फोट भएको स्थलमा फलामको टुक्रा भेटिएका छन् । टुक्रालाई प्रहरीले ल्याब परिक्षणका लागि पठाउने तयारी गरिरहेको छ । प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि दुईजनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि भारत मोतिहारीका रमेश जैसवाल र निजगढ ९ का २९ वर्षीय टिकाराम पाख्रीनलाई नियन्त्रणमा लिइएको हो ।। 
 

प्रतिक्रिया