भुक्तानीको सात अर्ब रुपैयाँ नपाएपछि देशभरका दुग्ध किसान आन्दोलित

दुध बिक्री गरेबापत करिब सात अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन । जिल्ला–जिल्लामा ज्ञापनपत्र बुझाइरहेका किसानले भुक्तानीका लागि सहजीकरण गर्न सरकारसँग आग्रह गरेका हुन । प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले फागुन १७ गते चक्का जाम र २१ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन । १७ गतेसम्म पनि भुक्तानी नपाए देशभरका दुध किसानलाई काठमाडौं उतारेर आन्दोलन गर्ने किसानको चेतावनी छ । किसान आन्दोलनपछि प्रधानमन्त्री दाहालले सोमबार रकम तत्काल भुक्तानी दिन निर्देशन दिएका छन । तीन÷चार महिना भइसक्दा पनि दुधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैंकको ब्याज–किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै किसान आन्दोलित भएका हुन ।  बक्यौता नपाए उनीहरूले फागुन १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा नै गरेका छन । निजी क्षेत्रका डेरीले करिब ६ अर्ब रुपैयाँ र सरकारी स्वामित्वको दुग्ध विकास संस्था डिडिसीले करिब ९० करोड रकम भुक्तानी नदिएको किसानको गुनासो छ । बजारमा दुधको उपभोग घटेर किसानसँग किनेको दुधबाट निर्माण गरिएको बटर र पाउडर दुध स्टक हुँदा पुँजी ‘होल्ड’ भएकाले किसानलाई भुक्तानी गर्न नसकेको उद्योगीको दाबी छ ।करिब ३० लाख किसानले दुध बिक्री गरेर आफ्नो गुजारा चलाउँदै आएका छन ।
 

प्रतिक्रिया