पक्राउ परेका उद्योगी चौधरीलाई ग्रान्डी अस्पतालमा सारियो

थापाको पनि ग्रान्डी अस्पतालमा उपचार हुँदै

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको अभियोगमा  बिहीबार पक्राउ परेका उद्योगपति अरुण चौधरीलाई ग्रान्डी अस्पतालमा सारिएको छ । पक्राउ गरेपछि चिरायु अस्पतालमा राखिएका चौधरीलाई अस्पतालले ग्रान्डीमा रिफर गरेको हो । अरुणसँगै पक्राउ परेका तत्कालीन छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापालाई पनि ग्रान्डी रिफर गरिएको छ । ८२ वर्षीय थापा मुटुका बिरामी हुन् । उनीहरुलाई हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको अनुमति बिहीबार नै लिएको छ । अदालतबाट पक्राउ पुर्जी लिएर सोही प्रकरणमा चौधरी, थापा र सञ्रुजय सिंह ठाकुर पक्राउ परेका थिए । पक्राउ परेका चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक र थापा बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन् । तीनै जनामाथि अनुसन्धान गर्न भनेर सीआईबीमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का ४८ जना बासिन्दाले उजुरी दिएका थिए । २०२० सालमा चीन सरकारको अनुदान सहयोगमा बाँसबारी छाला तथा जुत्ता कारखाना खोलिएको थियो । सोही कारखानाको जग्गा प्रतिरोपनी २ लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा १० रोपनी चौधरी समूहले किन्दा चलखेल भएको प्रहरीको दाबी छ ।।
 

प्रतिक्रिया