गण्डकीलाई हराउँदै आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आगामी शनिबार पुलिससँग प्रतिस्पर्धा गर्नेछ । जितका लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी २३.४ ओभरमा अलआउट हुँदै ६४ रनमा समेटियो । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आर्मीका साहब आलमले ४, जितेन्द्र मुखिया र कुशल मल्लले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले ३९.१ ओभरमा अलआउट हुँदै १३२ रन बनाएको थियो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ३४, सोमपाल कामीले २३, विनोद भण्डारीले १९, कुशल मल्लले १५, भीम सार्कीले १० र साहब आलमले १२ रन बनाए । गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २–२ तथा सन्दीप पराजुली र रोशन गौतमले १–१ विकेट लिए । पुलिस ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा रहँदा आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।

प्रतिक्रिया