प्रधानमन्त्री कप क्रिकेट: एपीएफद्धारा सुदूरपश्चिम तीन विकेटले पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ । आज काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो । ८८ रनको सामान्य लक्ष्य १४ ओभर १ बलमा पूरा गर्ने क्रममा एपीएफले ७ विकेट गुमाउन पुगेको थियो । एपीएफको जितमा सन्दीप जोराले अविजित १८ रन बनाए ।सुदूरपश्चिमका लागि दिपक चन्दले ४ तथा नरेन साउदले ३ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले भने १६ ओभर २ बलमै सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ३१ रन तथा खडक बोहोराले २४ रन बनाए । एपीएफका लागि चन्दन रामले सर्वाधिक ५ तथा भुवन कार्कीले ३ र कप्तान रोहित पौडेलले २ विकेट हात पारे । 

प्रतिक्रिया