भिजिट भिसामा मानव तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । भिजिट भिसा प्रकरणमा सङ्गठित गिरोहको संलग्नता देखिएकाले सोहीअनुरूप हदैसम्मको कारबाही सिफारिससहित प्रतिवेदन प्रहरीले बुझाएको हो । प्रतिवेदनमा पक्राउ परेका २२ जना प्रतिवादीमध्ये १२ जना अझै फरार रहेको र तीमध्ये आठ जना विमानस्थलमा खटिएका सरकारी कर्मचारी तथा तीन जना बिचौलिया छन। अनुसन्धान प्रतिवेदनमा विमानस्थलमा कार्यरत अधिकृतले भिजिट भिसामा विदेश पठाउनका लागि प्रतिव्यक्ति ४४ देखि ५५ हजार रुपियाँसम्म लिने गरेको खुलाइएको छरु। विमानस्थलमा रहेका अध्यागन कर्मचारी, विमान कर्मचारी तथा विभिन्न कन्सल्टेन्सी सञ्चालकसँगको सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी भएको पाइएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत असोज १७ गतेदेखि विशेष अनुसन्धान अघि बढाएको थियो। गिरोहसँगको सेटिङमा भिजिट भिसाको अनुमति दिने अध्यागमनका अधिकृत नरवीर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेलसहित पक्राउ परेका १० जना र फरार रहेका १२ गरी २२ जनाविरुद्ध लिखतसम्बन्धी र सङ्गठित अपराधको कसुरमा हदैसम्मको सजाय मागसहित अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।
 

प्रतिक्रिया