प्रधानमन्त्री कप क्रिकेट: कर्णालीद्धारा कोशी प्रदेश ६ विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । त्यस क्रममा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा कोशीको यो लगातार सातौँ हार हो । १० टिम सहभागी प्रतियोगितामा कोशीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १ सय ५२ रनको सामान्य लक्ष्य कर्णालीले २८ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । कर्णालीका लागि अर्जुन घर्तीले ५० रनको योगदान दिए । यस्तै विपिन शाही २८, हिमांशु शाही २४ रन जोडे । कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको कोशीले ३४.३ ओभरमा १ सय ५१ रनमा अल आउट भएको थियो । कोशीका लागि सुजन थपलियाले ७३ रन जोड्दा अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन् । कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए । कर्णाली ६ खेलमा ३ जित र ३ हारसँगै जारी प्रतियोगिताको पाँचौ स्थानमा छ । अंकविहिन कोशी पुछारमा छ ।
 

प्रतिक्रिया