नक्कली मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न नौ जना पक्राउ

काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् ।  नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह सार्वजनिक गरेको हो । गिरोहले काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार  मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । 
पक्राउ पर्नेहरुमा रामेछापका मनोज खत्री, मनिष खत्री, महेश खत्री विनोदकुमार कार्की, सिन्धुपाल्चोकका मोहन खड्का र रोशन कार्की, सिन्धुलीका गौरव तामाङ, लेखविक्रम थापा काठमाडौं कागेश्वरी मनोहराका सुमन नगरकोटी रहेका छन । उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ । नक्कली मदिराहरु बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरुलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रहरीको भनाइ छ । काठमाडौंको मनोहरा पाँच थलीस्थित भरत थापाको दुई खुकुरी रम, गोल्डेन वाक, फाईटर, सिग्नेचर, ३ सय ६५ ब्ल्याक  लगायतका नक्कली मदिरा बिक्री गर्दै आएका थिए । प्रहरीको उनीहरुको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तललगायतका मदिरा पनि बरामद गरेको छ । 

प्रतिक्रिया