पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट  हिजो मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो । भारतबाट पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएको थियो । सोही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६५ र डिजेलको मूल्य १ सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ र डिजेलको मूल्य १ सय ५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसअघिको ग्यासको मूल्य भने प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ नै रहेको छ । 

प्रतिक्रिया