मेस्सीलाई तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । गएराति लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । अवार्डका लागि नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारेका हुन । मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए । मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए । यसैगरी आइटाना बोनमाटा पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्वपूर्ण योगदान गरेकी थिइन् । मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरको बनिन् । एडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ ।  म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३  घोषित भएका छन् । यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको गोल उत्कृष्ट घोषित भयो । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो ।  ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ । यसैगरी ब्राजिललाई फिफा फेयर प्ले अवार्डबाट सम्मानित गरिएको छ ।  

प्रतिक्रिया