चालु आर्थिक वर्षको आधा समयमा ५१५ अर्ब रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५ सय १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो । यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए । उनका अनुसार पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो महिनामा आयकरको पहिलो किस्ता (४० प्रतिशत) संकलन हुने गर्दछ । यहिकारण देखाएर सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ । राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको उनले जानकारी दिए । गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ रजस्व उठेको थियो । सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो । प्रवक्ता शर्माले यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा नहुने देखिएको बताए । यस वर्ष आन्तरिक अन्तःशूल्कमा सबैभन्दा बढी कमी देखिएको छ  । आन्तरिक अर्थतन्त्र विस्तार भइरहेको संकेत राजस्व वृद्धिदरले गरेको भन्दै उनले आगामी ६ महिनाका लागि अर्थ मन्त्रालयले अब थप रणनीति बनाउने बतए । उनका अनुसार चुरोट र वियरबाट संकलन हुने अन्तःशूल्क प्रभावित भएको छ । यसमा विद्युतीय चुरोटको प्रभाव देखिएको हुन सक्ने भन्दै यसमा पनि रिभ्यू गर्नुपर्ने उनी बताउँछन् । भन्सारमा विद्युतीय सवारी साधनको आयात राम्रो हुँदा अपेक्षित राजस्व संकलन हुन नसकेको विश्लेषण अर्थ मन्त्रालयको छ ।
 

प्रतिक्रिया