गत पाँच महिनामा एक खर्ब २३ अर्ब रुपियाँ बिदेसियो

अध्ययन र भ्रमणका लागि पाँच महिना मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो । अध्ययन र भ्रमणका लागि नेपालबाट पछिल्लो पाँच महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो ।अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपियाँ बाहिरिएको थियो । गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपियाँ बाहिरिएको तथ्यांकले देखाएको छ । साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपियाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपियाँ बाहिरिएको थियो । यस वर्ष समीक्षा अवधिमा ४७ अर्ब ३४ करोड रुपियाँ अध्ययनका लागि बाहिरिएको छ भने गत वर्ष सोही अवधिमा २८ अर्ब ८० करोड रुपियाँ बाहिरिएकोे राष्ट्र बैंकले जनाएको छ । विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी रहेको देखिन्छ । पाँच महिनामा नेपालले भ्रमणबापत ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी गरेको छ जुन् भ्रमणबापत बाहिरिने रकमको तुलनामा करिब ४२ अर्ब रुपियाँले कम हो ।
 

प्रतिक्रिया