बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर लामिछानेको सजाय आज तोकिने

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । न्यायाधीश ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर सजाय निर्धारण गर्ने व्यवस्था छ ।  लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ । अदालतले पीडित किशोरीको उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । तर, पीडित बालिग भए पनि बलात्कार भएको जनाउँदै अदालतले लामिछानेलाई दोषी ठहर गरेको हो । कानुनी प्रावधान अनुसार, लामिछानेलाई ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ । मुलुकी अपराध संहितामा १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ । सजाय तोकिएपछि अदालतले उनलाई बाहिरै बसेर पुनरावेदन गर्न दिने अनुमान छ । यस्ता खालका मुद्दामा अधिकांशले बाहिरै बसेर पुनरावेदनको मौका पाउने गरेका छन । 
 

प्रतिक्रिया